विस्थापित सुकुमवासीको उजुरी मानव अधिकार आयोगमा, व्यवस्थापन नगरी हटाइएको गुनासो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । काठमाडौं उपत्यकाबाट विस्थापित सुकुमवासीहरूले आफ्नो मानव अधिकार हनन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्।
विस्थापनपछिको अवस्था तथा होल्डिङ सेन्टरमा राखिएको अवस्थासम्बन्धी गुनासो आयोगमा दर्ता भएको आयोगले जनाएको छ। बुधबार प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले विस्थापित सुकुमवासीहरूबाट उजुरी प्राप्त भएको जानकारी दिए।
उनका अनुसार आयोगले यसअघि नै सुकुमवासीलाई हटाउनुअघि उचित व्यवस्थापन गर्न सरकारलाई सिफारिस गरेको थियो। "सुकुमवासी हटाउन सकिन्छ, तर त्यसअघि उनीहरूको उचित व्यवस्थापन हुनुपर्छ भन्ने आयोगको सिफारिस थियो," अध्यक्ष मगरले भने, "तर अहिले पनि विस्थापनसँग सम्बन्धित उजुरी आयोगमा आइरहेका छन्।"
सरकारले काठमाडौं उपत्यकाबाट हटाइएका सुकुमवासीहरूलाई होल्डिङ सेन्टरमा राखेको भए पनि त्यहाँको बसोबास र व्यवस्थापनको अवस्थाबारे समेत आयोगमा गुनासो परेको अध्यक्ष मगरले जानकारी दिए। बैठकमा आयोगका सदस्य मिहिर ठाकुरले आयोगका सिफारिस कार्यान्वयन नहुँदा मानव अधिकार संरक्षणमा चुनौती थपिएको बताए।
उनले आफूहरू आयोगमा आएयता भएका कुनै पनि सिफारिस कार्यान्वयन नभएको उल्लेख गर्दै सरकारको कार्यान्वयन पक्ष कमजोर रहेको टिप्पणी गरे। आयोगले सिफारिस कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्ने र विस्थापित नागरिकको अधिकार सुनिश्चित गर्दै दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याएको छ।







