सभामुखलाई ‘कान सुन्नुहुन्छ कि हुँदैन?’ भन्ने प्रश्न गरेपछि संसदमा विवाद
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधिसभाको बुधबारको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र राईको अभिव्यक्तिलाई लिएर संसदमा केहीबेर विवाद भएको छ।
बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुख डीपी अर्याललाई सम्बोधन गर्दै, "सम्माननीय सभामुख महोदय, तपाईं कान सुन्नुहुन्छ कि हुँदैन? मेरो सभामुखलाई निवेदन हो," भनेका थिए। सांसद राईको उक्त अभिव्यक्तिपछि सभामुख अर्यालले तत्काल हस्तक्षेप गर्दै उनलाई मर्यादित भाषा प्रयोग गर्न निर्देशन दिए।
सभामुखले सांसद राईको टिप्पणीले सभामुखको मर्यादा र संसदको सम्मानमा प्रश्न उठाएको भन्दै बोल्न रोके। "माननीय सदस्य मर्यादामा बस्नुहोस्। योभन्दा अगाडि बढ्न म अनुमति दिन्नँ। तपाईं सभामुखको अपहेलना गर्दै हुनुहुन्छ, सभाको अपहेलना गर्दै हुनुहुन्छ। कृपया बस्नुस्," सभामुख अर्यालले निर्देशन दिए।
सभामुखको निर्देशनपछि केहीबेर सदनको वातावरण तनावपूर्ण बनेको थियो। त्यसपछि बैठक निर्धारित कार्यसूचीअनुसार अघि बढाइएको थियो।







