रेफ्रीमाथि पक्षपातको आरोप लगाउँदै इजिप्टका प्रशिक्षकले भने– अब विश्वकप हेर्दिनँ
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । अर्जेन्टिनासँगको नाटकीय हारपछि इजिप्टका मुख्य प्रशिक्षक होसम हसनले रेफ्रीको निर्णयप्रति कडा असन्तुष्टि जनाउँदै अब विश्वकपका बाँकी खेल नहेर्ने बताएका छन्।
बेलायती समाचार एजेन्सी रोयटर्सका अनुसार हसनले खेलमा रेफ्रीबाट गम्भीर त्रुटि भएको दाबी गर्दै आफ्नो टोलीमाथि अन्याय भएको बताएका हुन्। "म हार्दा दुःखी हुने मान्छे होइन, तर आज हामीमाथि भएको जस्तो पक्षपात कहिल्यै देखेको थिइनँ," उनले खेलपछि आयोजित पत्रकार सम्मेलनमा भने। "म अब यो विश्वकपका कुनै पनि खेल हेर्दिनँ।"
अन्तिम ११ मिनेटसम्म २–० को अग्रता बनाएको इजिप्ट अर्जेन्टिनाको पुनरागमन रोक्न असफल भयो। अर्जेन्टिनाले ७९औँ मिनेटपछि लगातार तीन गोल गर्दै ३–२ को रोमाञ्चक जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनायो।
इजिप्टले खेलका क्रममा आफ्नो एउटा गोल रद्द गरिएको तथा पेनाल्टी दाबीलाई बेवास्ता गरिएको भन्दै रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाएको छ। प्रशिक्षक हसनसहित टोलीका खेलाडी र समर्थकहरूले निर्णायक क्षणहरूमा रेफ्रीले निष्पक्ष भूमिका निर्वाह नगरेको आरोप लगाएका छन्।
इजिप्टका फरवार्ड मोस्ताफा जिकाले पनि खेलपछि पत्रकार सम्मेलनमा रेफ्री "अनफेयर" रहेको कुरा पटक–पटक दोहोर्याउँदै विवादास्पद निर्णयहरूले खेलको नतिजामा प्रभाव पारेको बताएका थिए।







