सरकार सामाजिक सञ्जालमै सीमित भएको कांग्रेसको आरोप
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार सामाजिक सञ्जाल र ‘भर्चुअल’ दुनियाँमा मात्र सीमित भएको आरोप लगाएको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा कांग्रेस सांसद प्रमिलाकुमारी गच्छदारले सरकारको १०० दिनको कार्यसम्पादनप्रति प्रश्न उठाउँदै दाबी र यथार्थबीच ठूलो अन्तर रहेको बताइन्। सरकारले १०० दिनमा ८७ प्रतिशत प्रगति हासिल गरेको दाबी गरे पनि त्यसको प्रभाव जनजीवनमा नदेखिएको उनको भनाइ थियो।
उनले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीमाथि पनि टिप्पणी गर्दै संसदप्रति सरकार पर्याप्त जवाफदेही नरहेको आरोप लगाइन्। "प्रधानमन्त्रीज्यू, यो सार्वभौम संसद् हो, कुनै सामाजिक सञ्जालको कमेन्ट बक्स होइन, जहाँ आफूलाई मन नपरेका प्रश्न र टिप्पणीहरू डिलिट वा ब्लक गर्न पाइयोस्। विपक्षीले हप्तौँदेखि संवाद खोज्दा पनि सरकारले बेवास्ता गर्नु संसदीय गरिमाविपरीत हो," गच्छदारले भनिन्।
उनले सीमा क्षेत्रका सुस्ता र ठोरीका बासिन्दाले सरकारको अभिव्यक्तिका कारण अनावश्यक दबाब र मानसिक त्रास झेल्नुपरेको दाबी गरिन्। त्यस्तै, होल्डिङ सेन्टरमा रहेका सुकुमबासीलाई वर्षायाममा वैकल्पिक व्यवस्थाबिनै हटाउने प्रयासलाई अमानवीय कदमको संज्ञा दिँदै सरकारको आलोचना गरिन्।
शिक्षा क्षेत्रमा नतिजा प्रकाशन छिटो भए पनि व्यापक प्राविधिक समस्या देखिएको तथा स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत करिब १९ अर्ब रुपैयाँ भुक्तानी रोकिँदा अस्पतालहरू सेवा प्रभावित हुने अवस्थामा पुगेको उनले बताइन्। क्यान्सर र रेबिजजस्ता अत्यावश्यक औषधिको अभावले नागरिकको बाँच्न पाउने अधिकार प्रभावित भएको उनको भनाइ थियो।
आर्थिक अवस्थाबारे टिप्पणी गर्दै गच्छदारले सरकारले धेरै आश्वासन दिए पनि अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाइन्। उनले पुँजीगत खर्च घटेको, सेयर बजार ओरालो लागेको, महँगी बढेको तथा स्वास्थ्य, शिक्षा र विद्युत् क्षेत्रमा थपिएको करले सर्वसाधारणमाथि थप आर्थिक भार परेको बताइन् ।







