सभामुखमाथिको टिप्पणी रेकर्डबाट हटाउन रास्वपाकी सांसद सङ्ग्रौलाको माग

User Image Prime TV News १ हप्ता अगाडि
Image of सभामुखमाथिको टिप्पणी रेकर्डबाट हटाउन रास्वपाकी सांसद सङ्ग्रौलाको माग

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका सङ्ग्रौलाले प्रतिनिधिसभामा सभामुखको मानमर्दन हुने गरी प्रयोग गरिएको अभिव्यक्ति संसद्को अभिलेख (रेकर्ड)बाट हटाउन माग गरेकी छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा नियमापत्ति जनाउँदै सांसद सङ्ग्रौलाले सभामुखको आचरणबारे टिप्पणी गर्न नहुने स्पष्ट कानुनी व्यवस्था रहेको स्मरण गराइन्। उनले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘ख’ उद्धृत गर्दै सभामुखप्रति गरिएको टिप्पणी संसदीय मर्यादाविपरीत भएको बताइन्।

"सभामुखले पदअनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावमाथिको छलफल बाहेक सभामुखको आचरणको आलोचना गर्न पाइँदैन। तर यहाँ जुरुक्क उठेर ‘सभामुखले कान सुन्नुहुन्छ कि हुँदैन’ भनेर प्रश्न गरिन्छ। यसको नियत के हो?" उनले प्रश्न गरिन्।

सांसद सङ्ग्रौलाले प्रतिपक्षी बेन्चका सांसदहरूलाई उक्त अभिव्यक्तिको आधार र आशय स्पष्ट पार्न चुनौती दिँदै सभामुखसमक्ष दुई विकल्प प्रस्तुत गरिन्। उनले भनिन्, "‘सभामुखलाई कान सुन्नुहुन्छ कि हुँदैन’ भन्ने शब्द तत्काल संसद्को रेकर्डबाट हटाइयोस्। यदि हटाइँदैन भने त्यसलाई जस्ताको तस्तै राखियोस्, ताकि भोलिको पुस्ता र इतिहासले पनि प्रतिपक्षी बेन्चमा कस्ता–कस्ता सांसद थिए भन्ने देख्न सकोस्।"

यसअघि नेकपा (एमाले) का सांसद राजेन्द्र राईले आफ्नो धारणा राख्ने क्रममा सभामुख डोलप्रसाद अर्याललाई "कान सुन्नुहुन्छ कि सुन्नुहुन्न?" भन्दै प्रश्न गरेपछि सभामुखले उनलाई रोकेका थिए। त्यसलगत्तै रास्वपाकी सांसद सङ्ग्रौलाले नियमापत्ति जनाउँदै उक्त अभिव्यक्तिप्रति आपत्ति व्यक्त गरेकी हुन्।