अर्थतन्त्र चलायमान बनाउन प्रधानमन्त्री उद्योगी–व्यवसायीसँग संवादमा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन तथा निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले प्रमुख उद्योगी तथा व्यवसायीहरूसँग आज उच्चस्तरीय संवाद गर्ने भएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्था, लगानीमैत्री वातावरण निर्माण तथा सरकार–निजी क्षेत्रबीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल हुनेछ।
बैठकमा निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अन्जन श्रेष्ठ, उद्योग समिति सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघ (सीएनआई) का निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, महानिर्देशक डा. घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष कमलेशकुमार अग्रवाल तथा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रालगायतको सहभागिता रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सरकारले पछिल्लो समय सुस्ताएको आर्थिक गतिविधिलाई गति दिने, लगानीको वातावरण सुधार गर्ने र निजी क्षेत्रका समस्या समाधानका लागि नियमित संवादलाई प्राथमिकता दिँदै आएको छ।






