उद्योगी–व्यवसायीलाई प्रधानमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रलाई धरपकड गर्ने सरकारको नीति छैन’

User Image Prime TV News १ हप्ता अगाडि
Image of उद्योगी–व्यवसायीलाई प्रधानमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रलाई धरपकड गर्ने सरकारको नीति छैन’

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रलाई विश्वासमा लिने प्रयासस्वरूप उद्योगी तथा व्यवसायीसँग छलफल गर्दै सरकारको उद्देश्य निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभएको बताएका छन्।

आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति सार्वजनिक भएपछि सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रसँग सहकार्य गर्दै आर्थिक गतिविधिलाई चलायमान बनाउने सरकारको प्रतिबद्धता व्यक्त गरेका हुन्।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले प्रधानमन्त्रीले निजी उद्योग–व्यवसायीलाई धरपकड गर्ने सरकारको कुनै नीति नरहेको स्पष्ट पारेको बताए। "निजी उद्योग–व्यवसायीलाई पक्रिने वा धरपकड गर्ने सरकारको कुनै नीति छैन भन्ने कुरा प्रधानमन्त्रीज्यूले स्पष्ट रूपमा राख्नुभयो," अग्रवालले भने।

छलफलका क्रममा उद्योगी–व्यवसायीहरूले पछिल्लो समय निजी क्षेत्रमाथि सरकारी निकायको निगरानी र कानुनी कारबाही बढेको विषय उठाएका थिए। उनीहरूले यसले व्यवसायिक वातावरणमा नकारात्मक प्रभाव परेको धारणा राखेका थिए।

जवाफमा प्रधानमन्त्री शाहले कसैलाई अमर्यादित व्यवहार गर्ने सरकारको न नीति, न उद्देश्य र न नियत रहेको स्पष्ट पारेका थिए। कानुनले तोकेका व्यवस्था कार्यान्वयन गर्ने क्रममा मात्र आवश्यक कारबाही हुने उनको भनाइ उद्धृत गर्दै अग्रवालले जानकारी दिए।

बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरूले लगानीमैत्री वातावरण निर्माण, पुँजीगत खर्च बढाउने, निजी क्षेत्रको मनोबल उकास्ने तथा आर्थिक गतिविधि विस्तार गर्ने नीतिगत कदम चाल्न सरकारलाई सुझाव दिएका थिए।