प्रधानमन्त्रीलाई हटाउने प्रावधान होइन, विधानको अपव्याख्या भयो : रास्वपा उपनेता पराजुली

User Image Prime TV News १ हप्ता अगाडि
Image of प्रधानमन्त्रीलाई हटाउने प्रावधान होइन, विधानको अपव्याख्या भयो : रास्वपा उपनेता पराजुली

काठमाडौ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीको संसदीय दलको विधानमा रहेको संसदीय दलको नेता हटाउने व्यवस्थालाई प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गरिएको भनेर गरिएको व्याख्या गलत भएको बताएका छन्।

बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उपनेता पराजुलीले संसदीय दलको विधानलाई नियतवश अपव्याख्या गरिएको आरोप लगाए। उनले विधानमा संसदीय दलको नेता मात्र नभई पार्टी सभापति, संसदीय दलका उपनेतालगायत पदाधिकारीलाई समेत आवश्यक प्रक्रिया पूरा गरेर जिम्मेवारीबाट हटाउन सकिने व्यवस्था रहेको स्पष्ट पारे।

"संसदीय दलको नेता मात्र हटाउने प्रावधान छ भनेर व्याख्या गर्नु सही होइन। विधानमा अन्य पदाधिकारीबारे पनि समान व्यवस्था छ, तर त्यसलाई नियतवश फरक ढंगले प्रस्तुत गरिएको छ," पराजुलीले भने। उनका अनुसार राजनीतिक दलको विधान कुनै एक व्यक्ति वा पदलाई लक्षित गरेर होइन, संस्थागत व्यवस्था र पार्टी सञ्चालनलाई प्रभावकारी बनाउने उद्देश्यले तयार गरिन्छ।

पराजुलीले विधानका व्यवस्थालाई समग्र सन्दर्भमा बुझ्नुपर्ने उल्लेख गर्दै त्यसलाई प्रधानमन्त्री बालेन्द्र शाहसँग मात्र जोडेर व्याख्या गर्नु उपयुक्त नहुने धारणा व्यक्त गरे।