अमेरिकाद्वारा फेरि इरानमाथि हवाई आक्रमण, होर्मुज क्षेत्रमा तनाव थप चुलियो

User Image Prime TV News १ हप्ता अगाडि
Image of अमेरिकाद्वारा फेरि इरानमाथि हवाई आक्रमण, होर्मुज क्षेत्रमा तनाव थप चुलियो

काठमाडौ । अमेरिकाले इरानमाथि अर्को चरणको हवाई आक्रमण गरेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पुनः कडा प्रहार गर्ने चेतावनी दिएको केही घण्टामै अमेरिकी सेनाले दक्षिणी इरानका विभिन्न क्षेत्रमा आक्रमण गरेको हो।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार सिरिक, बन्दर अब्बास, कोनारक, चाबहार र जास्क क्षेत्रमा विस्फोट भएका छन्। यीमध्ये बन्दर अब्बास र सिरिक होर्मुज जलडमरूको किनारमा पर्ने रणनीतिक क्षेत्र हुन्।

बन्दर अब्बासमा आठवटा विस्फोट भएको तथा सिरिक र जास्कमा दुई–दुई वटा क्षेप्यास्त्र प्रहार भएको इरानले जनाएको छ। विवादित अबु मुसा टापुमा पनि दुई वटा प्रक्षेप्यास्त्र खसेको बताइएको छ।

आक्रमणपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यो कारबाही इरानले होर्मुज जलडमरूमा जहाजमाथि गरेको आक्रमणको जवाफ भएको बताएका छन्। उनले इरानले यस्तै गतिविधि दोहोर्याए अझ कडा प्रतिक्रिया दिइने चेतावनी पनि दिएका छन्।

अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले जारी गरेको विज्ञप्तिमा होर्मुज जलडमरूमा स्वतन्त्र जलयात्रामाथि खतरा उत्पन्न गर्ने इरानको क्षमता कमजोर बनाउन आक्रमण गरिएको उल्लेख गरिएको छ। साथै व्यावसायिक जहाज र नागरिक चालक दलमाथि भएको आक्रमणको जिम्मेवारी इरानले नै वहन गर्नुपर्ने अमेरिकाको भनाइ छ।

इरानले यस घटनाबारे तत्काल औपचारिक प्रतिक्रिया दिएको छैन। तर यसअघि इरानी अधिकारीहरूले अमेरिकाबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिने चेतावनी दिएका थिए।

आक्रमणपछि बन्दर अब्बासमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको इरानी सञ्चारमाध्यमले जनाएका छन्। चाबहारमा विद्युत् आपूर्ति केही समय अवरुद्ध भएको तथा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको एक ब्यारेकमा आगलागी भएको पनि समाचारमा उल्लेख छ। पछि विद्युत् प्रसारणका अधिकांश लाइन पुनः सञ्चालनमा आएको जनाइएको छ।

यसैबीच ट्रम्पले इरान सम्झौता गर्न इच्छुक देखिएको दाबी गरेका छन्। एयर फोर्स वनमा पत्रकारसँग कुरा गर्दै उनले इरानले सम्पर्क गरेर सम्झौताको इच्छा व्यक्त गरेको बताए। तर इरानले कुनै सम्झौताको पालना गर्छ वा गर्दैन भन्नेमा आफू विश्वस्त नरहेको उनको भनाइ थियो।

यता इरानका विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समार्फत इरानले जवाफ शब्दले नभई कामबाट दिने बताएका छन्।

अमेरिका र इरानबीच गत जुन सत्रमा साठी दिने युद्धविरामसहितको समझदारी पत्रमा हस्ताक्षर भएको थियो। त्यसमा वार्ता जारी राख्ने, होर्मुज जलडमरूबाट जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने तथा अमेरिकाले इरानमाथिका केही प्रतिबन्ध हटाउने विषय समावेश थिए। तर पछिल्ला लगातारका आक्रमण–प्रत्याक्रमणले उक्त समझदारी संकटमा परेको देखिएको छ।

दुवै देशबीच बढ्दो सैन्य तनावका कारण मध्यपूर्वको सुरक्षा अवस्था र विश्व ऊर्जा आपूर्तिमा समेत थप चिन्ता बढेको छ।