युक्रेनलाई पेट्रियट क्षेप्यास्त्र उत्पादनको अनुमति दिने ट्रम्पको घोषणा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई पेट्रियट इन्टरसेप्टर क्षेप्यास्त्र उत्पादन गर्ने अनुमति दिने घोषणा गरेका छन्।
यस निर्णयले रुसको ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणविरुद्ध युक्रेनको हवाई सुरक्षा क्षमता बलियो हुने अपेक्षा गरिएको छ।टर्कीको अंकारामा आयोजित नेटो शिखर सम्मेलनका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्दै ट्रम्पले अमेरिकाले पेट्रियट उत्पादनको अनुमति उपलब्ध गराउने बताएका हुन्।
उनका अनुसार आवश्यक प्रक्रिया पूरा भएपछि युक्रेनले छिट्टै उत्पादन सुरु गर्न सक्ने विश्वास गरिएको छ। ट्रम्पले यस निर्णयबारे रक्षा सामग्री उत्पादक कम्पनी लकहिड मार्टिन र रेथियनलाई भने अहिलेसम्म औपचारिक जानकारी नदिइएको स्वीकार गरेका छन्।
पेट्रियट प्रणालीले आकाशबाट आउने क्षेप्यास्त्र पहिचान गरी लक्ष्यमा पुग्नुअघि नै नष्ट गर्ने क्षमता राख्छ। यो विश्वकै प्रभावकारी र महँगा हवाई रक्षा प्रणालीमध्ये एक मानिन्छ। एउटा पूर्ण पेट्रियट प्रणालीको मूल्य करिब एक अर्ब अमेरिकी डलर बराबर पर्ने बताइएको छ।
अमेरिकी रक्षा मन्त्रालयका अनुसार पेट्रियट क्षेप्यास्त्र उत्पादन प्रक्रिया जटिल र लामो छ। हाल प्रत्येक वर्ष करिब छ सय वटा मात्र पेट्रियट क्षेप्यास्त्र उत्पादन हुने गरेको छ।
अमेरिकास्थित एक अध्ययन संस्थाका अनुसार यस वर्षको सुरुमा इरानसँग भएको युद्धका क्रममा अमेरिकाले आफ्नो पेट्रियट क्षेप्यास्त्र भण्डारको ठूलो हिस्सा प्रयोग गरेकाले अन्य देशलाई यो प्रणाली उपलब्ध गराउने विषयमा सावधानी अपनाइरहेको छ।
ट्रम्पले पनि अमेरिकासँग पेट्रियट प्रणाली सीमित मात्रामा रहेको र आफ्नै सुरक्षाका लागि पनि यसको आवश्यकता रहेको बताएका छन्। यता, रुसले पछिल्ला महिनाहरूमा युक्रेनमाथि क्षेप्यास्त्र आक्रमण तीव्र बनाएपछि युक्रेनलाई यो प्रणालीको आवश्यकता झन् बढेको छ। गत हप्ता राजधानी किभमा भएको आक्रमणमा दर्जनौँ नागरिकको ज्यान गएको थियो।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि नै अमेरिकासँग पेट्रियट उत्पादनको अनुमति मागिएको जानकारी दिएका थिए। यद्यपि, केही सैन्य विश्लेषकहरूले अहिलेको युद्धको अवस्थालाई हेर्दा युक्रेनभित्रै पेट्रियट क्षेप्यास्त्र उत्पादन सुरु गर्न प्राविधिक र सुरक्षा चुनौती रहने बताएका छन्।







