आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, भोलिदेखि पश्चिम नेपालमा भारी वर्षा हुनसक्ने

User Image Prime TV News १ हप्ता अगाडि
Image of आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, भोलिदेखि पश्चिम नेपालमा भारी वर्षा हुनसक्ने

काठमाडौ । आज पनि नेपालका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान मोडेलअनुसार भोलिदेखि आइतबारसम्म पश्चिम नेपालका केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

मौसमविद्का अनुसार विभिन्न मौसम पूर्वानुमान मोडेलले पश्चिम नेपालमा भारी वर्षाको सम्भावना देखाएका छन्। यद्यपि, वर्षा हुने स्थान र परिमाण भने फरक–फरक हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।

केही स्थानमा मोडेलले अनुमान गरेभन्दा बढी वर्षा हुन सक्छ भने केही स्थानमा अनुमानभन्दा कम वर्षा पनि हुन सक्छ। त्यसैले सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक सावधानी अपनाउनुपर्ने मौसमविद्बले सुझाव दिएका छन् ।

यस अवधिमा पहाडी तथा हिमाली क्षेत्रमा वर्षासँगै पहिरो जाने, नदी तथा खोलामा पानीको बहाव बढ्ने र आकस्मिक बाढी आउने जोखिम रहने भएकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

यता, पूर्वी नेपालको तराई क्षेत्रमा भने अपेक्षाकृत कम वर्षा भइरहेको छ। मौसम पूर्वानुमानले वर्षाको सम्भावना देखाए पनि तराईका धेरै स्थानमा उल्लेख्य वर्षा हुन सकेको छैन।

वर्षा गराउने बादललाई माथितर्फ उकास्ने प्रक्रिया कमजोर भएकाले तराईमा अपेक्षित वर्षा हुन नसकेको हो। पहाडी भूभागले बादललाई माथि उठाउन सहयोग गर्ने भएकाले त्यहाँ तुलनात्मक रूपमा बढी वर्षा भइरहेको पनि मौसमविद्को भनाइ छ ।