प्रतिनिधिसभामा आज पनि विपक्षीको विरोध, प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा जवाफ माग
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधिसभाको बैठकमा आज पनि विपक्षी दलका सांसदहरूले विरोध जनाएका छन्।
बैठक सुरु भएको घोषणा हुनासाथ विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन्। विरोधपछि सभामुख डोलप्रसाद अर्यालले लामो समयदेखि एउटै विषयमा विपक्षी सांसदहरूले ध्यानाकर्षण गराउँदै आएको उल्लेख गर्दै संसद्को मर्यादा र समयलाई ध्यानमा राखी विपक्षी बेन्चबाट एक जना सांसदले धारणा राखेपछि बैठकको कार्यसूची अघि बढाउने प्रस्ताव गरेका थिए।
सभामुखको प्रस्तावअनुसार नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीले आफ्नो धारणा राख्दै प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको सीमासम्बन्धी अभिव्यक्तिबारे स्पष्ट जवाफ दिनुपर्ने माग गरिन्। उनले संसद्मा उठेको विषयको उत्तर पनि संसद्कै रोष्ट्रमबाट दिनुपर्ने बताइन्।
गत जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले, “भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको धेरै ठाउँको जग्गा मिचेको रहेछ भन्ने कुरा प्रधानमन्त्री भएपछि थाहा पाएँ,” भन्ने अभिव्यक्ति दिएका थिए।
प्रधानमन्त्रीको उक्त भनाइपछि विपक्षी दलहरूले निरन्तर संसदमा विरोध जनाउँदै आएका छन्। विपक्षीको माग अनुसार प्रधानमन्त्रीले आफ्नो भनाइको तथ्यगत आधार प्रस्तुत गर्नुपर्ने, अन्यथा संसद्मा आएर माफी माग्नुपर्ने बताएका छन्।







