कृषि मन्त्रालयका १०० दिनका उपलब्धि सार्वजनिक, किसान सेवा सुधार र मल व्यवस्थापनमा जोड
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । वर्तमान सरकार गठन भएको १०० कार्यदिन पूरा भएको अवसरमा कृषि, वन तथा वातावरण मन्त्रालयले आफ्नो कार्यप्रगति सार्वजनिक गरेको छ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गीता चौधरी र सचिव डा. राजेन्द्र प्रसाद मिश्रले यस अवधिमा भएका प्रमुख काम र उपलब्धिहरूको विवरण प्रस्तुत गरेका हुन्। मन्त्रालयका अनुसार किसानलाई सहज सेवा उपलब्ध गराउन प्रविधिको प्रयोग विस्तार गर्नुका साथै नीतिगत झन्झट हटाउने कामलाई प्राथमिकता दिइएको छ।
कृषि क्षेत्रलाई थप प्रभावकारी बनाउन सेवा प्रवाह सुधार र व्यवस्थापन प्रणालीमा सुधारका प्रयास अघि बढाइएको मन्त्रालयले जनाएको छ। कृषि उपजको पहिचान र संरक्षणका लागि भौगोलिक संकेत (GI) प्रणालीलाई अघि बढाइएको छ। यसअन्तर्गत सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने तथा ठूलो अलैँचीलाई संरक्षणमा समेट्ने निर्णय मन्त्रिस्तरबाट गरिएको मन्त्रालयले जानकारी दिएको छ।
रासायनिक मलको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन पुरानो मल नियन्त्रण आदेशलाई प्रतिस्थापन गर्दै नयाँ ‘मल (नियन्त्रण) आदेश’को मस्यौदा तयार पारिएको छ। उक्त मस्यौदा छिट्टै मन्त्रिपरिषद्मा पेश गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै, अनुदानको मल वितरण कार्यविधि परिमार्जन गरी मल वितरक कम्पनीहरूलाई निकास दिने मापदण्डलाई थप पारदर्शी र वस्तुपरक बनाइएको मन्त्रालयको भनाइ छ। पत्रकार सम्मेलनमा मन्त्री गीता चौधरीले किसानका समस्या समाधान गर्दै कृषि उत्पादन वृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताइन्। उनले कृषि क्षेत्रको आधुनिकीकरण, सेवा सुधार र किसानमैत्री नीति निर्माणलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।







