निर्माण क्षेत्रका समस्या समाधान गर्न प्रधानमन्त्री शाहको प्रतिबद्धता
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या समाधान गर्दै पूर्वाधार विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिको महत्वपूर्ण आधार भएको उल्लेख गरे।
उनले निर्माण व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र जिम्मेवार बनाउँदै विकास आयोजनाहरू निर्धारित समयभित्र सम्पन्न गर्न सरकार, निर्माण व्यवसायी र सम्बन्धित सबै पक्षबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।
छलफलका क्रममा निर्माण व्यवसायीहरूले भुक्तानी समस्या, ठेक्का व्यवस्थापन, आयोजना कार्यान्वयनमा हुने ढिलाइ, म्याद थप, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी चुनौतीहरूबारे प्रधानमन्त्रीलाई जानकारी गराए।
नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीहरूले निर्माण उद्योगलाई चलायमान बनाउन नीतिगत सुधार, सहज लगानी वातावरण र सरकार–निजी क्षेत्र सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए।
छलफलमा महासङ्घका अध्यक्ष निकोलश पाण्डेसहित पदाधिकारीहरू तथा प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।






