जेठ १७ गतेको संसद् घटनामा दोषीमाथि कारबाही गर्न जाँचबुझ समितिको सिफारिस

User Image Prime TV News १ हप्ता अगाडि
Image of जेठ १७ गतेको संसद् घटनामा दोषीमाथि कारबाही गर्न जाँचबुझ समितिको सिफारिस

काठमाडौ । प्रतिनिधिसभामा गत जेठ १७ गते भएको घटनाबारे गठित जाँचबुझ समितिले प्रतिवेदन बुझाउँदै उक्त घटना संसदीय मर्यादाको गम्भीर उल्लंघन भएको निष्कर्ष निकालेको छ।

प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा गठित समितिले स्थलगत अध्ययन, सिसिटिभी फुटेज र प्रत्यक्षदर्शीको बयानका आधारमा तयार पारेको प्रतिवेदनमा दोषी देखिएका सांसदहरूमाथि सभामुखले प्राप्त विशेषाधिकार प्रयोग गरी कारबाही गर्न सिफारिस गरिएको छ।

समितिले घटनाका क्रममा प्रतिनिधिसभा नियमावलीको पालना नभएको, संयमता कमजोर देखिएको र व्यवस्थापनमा चुनौती देखिएको उल्लेख गरेको छ। प्रतिवेदनमा विपक्षी दलका सांसदहरूले सभामुखलाई सभाहल प्रवेशमा अवरोध गर्ने प्रयास गरेको, विरोधका क्रममा टेबुलमा चढ्ने, माइक तान्ने र मर्यादापालकसँग अभद्र व्यवहार गर्ने जस्ता गतिविधि भएको उल्लेख छ।

समितिका अनुसार घटनाका क्रममा सभामुखको आसन अगाडिको टेबुलको बार भत्किएको, समय–सूचक बत्तीको तार चुँडिएको, प्रधानमन्त्री तथा रास्वपाको नेमप्लेटमा क्षति पुगेको र सभाहलको ढोकाको छेस्किनीसमेत फुटेको पाइएको छ।

प्रतिवेदनमा केही सांसदहरू टेबुलमाथि चढेर सभामुखतर्फ अघि बढ्न खोजेको, कुर्सी उचालेको, कुर्सीमा प्रहार गरेको तथा विरोधका क्रममा वस्तु प्रहार र माइक स्ट्यान्ड फाल्ने कार्य भएको उल्लेख गरिएको छ। मर्यादापालक र सांसदबीच भएको धकेलाधकेलमा केही मर्यादापालक घाइते भएको पनि प्रतिवेदनमा जनाइएको छ।

समितिले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ३३ बमोजिम सभामुखलाई विशेष अधिकार प्रयोग गर्न सुझाव दिएको छ। उक्त व्यवस्थाअनुसार बैठक कक्षमा अनुशासन भंग गर्ने वा ध्वंसात्मक गतिविधि गर्ने सदस्यलाई निष्कासन, निलम्बन तथा भौतिक क्षतिको क्षतिपूर्ति भराउने व्यवस्था रहेको छ।

घटना पुनः नदोहोरियोस् भन्न समितिले दलीय नेतृत्व र सचेतकहरूको भूमिका प्रभावकारी बनाउन, सिसिटिभी निगरानी तथा अभिलेख व्यवस्थापन सुधार गर्न, मर्यादापालकलाई आवश्यक स्रोत–साधन उपलब्ध गराउन र सांसदहरूका लागि आचारसंहिता सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्न सुझाव दिएको छ।