देशभर मनसुन सक्रिय, आज धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

User Image Prime TV News १ हप्ता अगाडि
Image of देशभर मनसुन सक्रिय, आज धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ रहेकाले देशभर मौसम प्रभावित बनेको छ । यसको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।

अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थान तथा पहाडी क्षेत्रका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेश र कोशी प्रदेशको तराईका थोरै स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।

साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ। तराईका धेरै स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने सम्भावना छ।

महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाएको छ।

त्यस्तै, मधेश प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

भारी वर्षाका कारण पहिरो, डुबान, बाढी तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।