५५ प्रतिशत जलेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला बिग्रन सक्ने
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको र जुनसुकै बेला थप जटिल बन्न सक्ने वीर अस्पतालले जनाएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालले नेपालीको अवस्था अझै अस्थिर रहेकाले स्वास्थ्यबारे निश्चित रूपमा केही भन्न सक्ने अवस्था नरहेको जानकारी दिएको हो। अस्पतालका अनुसार आगलागीका कारण अनुहारमा गम्भीर जलन हुनुका साथै श्वासप्रश्वास प्रणालीमा समेत असर पुगेकाले उपचार चुनौतीपूर्ण बनेको छ।
यद्यपि चिकित्सकहरूको विशेष टोलीले उनको उपचारलाई निरन्तरता दिइरहेको जनाएको छ। हाल वीर अस्पतालको बर्न आइसियुमा भेन्टिलेटरको सहायतामा उपचाररत नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।
वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय चिकित्सक टोली उपचारमा खटिएको छ।
अस्पतालले बिरामीलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी गरिएको भए पनि स्वास्थ्य अवस्था स्थिर नभएकाले हाल तत्काल स्थानान्तरण गर्न नसकिएको जनाएको छ।







