गृहमन्त्रीमाथि राप्रपाको आरोप : ‘स्टन्ट होइन, जिम्मेवार भूमिका देखाउनुपर्छ’
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गणेश नेपालीको आत्मदाह प्रयासको घटनामा गृहमन्त्री सुधन गुरुङले देखाएको भूमिकाप्रति आपत्ति जनाएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले गृहमन्त्री गुरुङले घटनापछि मिडिया केन्द्रित गतिविधि गरेको आरोप लगाए। उनले गृहमन्त्रीलाई ‘कन्टेन्ट क्रियटर’ नभई जिम्मेवार राज्य संयन्त्रको नेतृत्वकर्ताको भूमिकामा रहन आग्रह गरे।
“गृहमन्त्री तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ? गृहमन्त्रीले हिजो फिल्मको नायकजस्तै मिडिया घेरेर कहिले एयरपोर्ट, कहिले उता दौडिरहनुभएको थियो,” शाहीले भने। उनले यदि उपचारको उद्देश्यले प्रभावकारी कदम चालिएको भए गणेश नेपालीको ज्यान जोगिन सक्ने दाबी गरे। घटनामा मन्त्रीको सक्रियता देखाउनु मात्र नभई त्यसले नागरिकको जीवन बचाउन कस्तो परिणाम दियो भन्ने विषय महत्वपूर्ण हुने उनको भनाइ थियो।
शाहीले आत्मदाह प्रयास गरेका नेपालीलाई बिहीबार नै भारतको नयाँ दिल्ली लगेर उपचार गराइएको भए सम्भवतः उनको जीवन बचाउन सकिने दाबी गरे। उनले मन्त्रीहरूलाई सडकमा प्रदर्शनात्मक गतिविधि नगरी जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्दै गृहमन्त्रीलाई देशको वास्तविक गृहमन्त्रीको भूमिकामा प्रस्तुत हुन सुझाव दिए।







