व्यवसायमा समस्या बढेपछि तनावमा रहेका अश्विन राउतले गरे आत्मदाहको प्रयास
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरमा शनिबार आत्मदाहको प्रयास गरेका ५० वर्षीय अश्विनकुमार राउत केही महिनायता व्यवसायमा आएको समस्याका कारण तनावमा रहेको पारिवारिक स्रोतले जनाएको छ।
राउत सुपर वायर एण्ड स्टिल इन्डस्ट्रियल प्रालि तथा दिव्यश्री ट्रेड कन्सर्न प्रालिका सञ्चालक हुन्। उनले नदी किनारामा प्रयोग हुने तारजाली उत्पादनका साथै चीनबाट फ्रिज, पंखालगायतका विद्युतीय सामग्री आयात गर्ने व्यवसाय सञ्चालन गर्दै आएका थिए।
तर पछिल्लो समय व्यवसायमा आएको मन्दीका कारण उनी आर्थिक र मानसिक दबाबमा रहेको बताइएको छ। सिराहाको लाहान स्थायी घर भएका राउत काठमाडौंको बुद्धनगरस्थित आफ्नै निवासमा बस्दै आएका थिए। शनिबारको घटना पनि सोही घरमा भएको हो।
प्रहरीले प्रारम्भिक रूपमा छोरासँग विवाद भएपछि उनले आत्मदाहको प्रयास गरेको जनाएको छ। तर पारिवारिक स्रोतले भने उक्त दाबी अस्वीकार गर्दै उनका छोरा झगडालु स्वभावका नरहेको र घटनाको मुख्य कारण व्यवसायमा आएको समस्या भएको बताएको छ।
पारिवारिक स्रोतका अनुसार व्यवसाय सञ्चालनमा कठिनाइ बढेपछि उनले ललितपुरको भैँसेपाटीस्थित जग्गा बिक्री गर्ने प्रयास गरेका थिए। तर विभिन्न कारणले बिक्री हुन नसकेपछि उनी थप तनावमा परेका थिए।
व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहेका राउत राउत क्षेत्री सेवा समाजका अध्यक्षसमेत हुन्। समाजका सचिव रोशन राउतका अनुसार घटना भएको समयमा उनकी श्रीमती र छोरा घरबाहिर थिए। केही समयअघि मात्र भारतमा स्वास्थ्य उपचार गराएर उनी नेपाल फर्किएका थिए।
घटनापछि उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।







