निष्क्रिय बैंक खाता घटाउन राष्ट्र बैंकको निर्देशन, ग्राहकलाई नियमित सूचना दिनुपर्ने

User Image Prime TV News १ हप्ता अगाडि
Image of निष्क्रिय बैंक खाता घटाउन राष्ट्र बैंकको निर्देशन, ग्राहकलाई नियमित सूचना दिनुपर्ने

काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको संख्या घटाउन कार्ययोजना बनाएर २०८३ पुस मसान्तभित्र कार्यान्वयन गर्न निर्देशन दिएको छ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका वित्त कम्पनीलाई निष्क्रिय खाता न्यूनीकरणका लागि आवश्यक व्यवस्था गर्न निर्देशन दिएको हो।

निर्देशनअनुसार कुनै खाता निष्क्रिय हुनुअघि बैंक तथा वित्तीय संस्थाले फोन, एसएमएस, इमेललगायतका माध्यमबाट सम्बन्धित ग्राहकलाई नियमित रूपमा जानकारी गराउनुपर्नेछ।

त्यस्तै, निष्क्रिय भएका खातालाई पुनः सक्रिय बनाउन कम्तीमा प्रत्येक छ महिनामा एक पटक फोन, एसएमएस वा इमेलमार्फत ग्राहकलाई जानकारी गराई खाता सञ्चालन गर्न अनुरोध गर्नुपर्नेछ। यस्तो जानकारीको अभिलेख पनि बैंकले सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले ग्राहकलाई आफ्ना खाता देशभरका जुनसुकै शाखा कार्यालय वा मोबाइल तथा वेब एप्लिकेसनमार्फत सहज रूपमा बन्द गर्न सक्ने व्यवस्था गर्न पनि निर्देशन दिएको छ।

यदि ग्राहकले शाखा कार्यालय वा डिजिटल माध्यमबाट खाता बन्द गर्न अनुरोध गरेमा खातामा रहेको रकम ग्राहकले तोकेको अर्को बैंक खातामा रकमान्तर गरी खाता बन्द गरिदिनुपर्ने व्यवस्था गरिएको छ।

यस्तै, ग्राहकको पहिचान सुनिश्चित गरी देशभरका जुनसुकै शाखाबाट निष्क्रिय खाता पुनः सञ्चालन गर्न सकिने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।

साथै, पुनः सञ्चालनमा आएका निष्क्रिय खातामा हुने अस्वाभाविक वा शंकास्पद कारोबारको निगरानी गर्न उपयुक्त प्रणाली विकास गर्न पनि बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको छ।