आइतबार र सोमबार भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

User Image Prime TV News १ हप्ता अगाडि
Image of आइतबार र सोमबार भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौ । देशभर मनसुनी वायु सक्रिय रहेकाले आइतबार र सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार शनिबार पनि काठमाडौंसहित देशका सातै प्रदेशका विभिन्न स्थानमा वर्षा भएको छ भने केही क्षेत्रमा अझै वर्षा भइरहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा औसत स्थानभन्दा केही माथि र पूर्वी नेपालमा तराई क्षेत्रनजिक रहेको छ।

विभागले आइतबार र सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरेको छ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने चेतावनी पनि विभागले दिएको छ।

सक्रिय मनसुनका कारण गेग्र्यान बहाव, बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले विभागबाट जारी हुने पछिल्ला मौसम सूचना नियमित रूपमा पालना गर्न अनुरोध गरिएको छ।

विभागका अनुसार २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षा भए भारी वर्षा, १०० देखि २०० मिलिमिटरसम्म वर्षा भए धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा मानिन्छ।