सुनको मूल्य फेरि बढ्यो, चाँदी सस्तो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । दिनहुँ उतारचढाव हुँदै आएको सुनको मूल्य आज फेरि बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ८७ हजार ४ सय रुपैयाँ कायम भएको थियो। लगातार पाँच दिनसम्म घटेको सुनको मूल्य शुक्रबारदेखि पुनः उकालो लाग्न थालेको हो।
यसअघि बिहीबार सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८४ हजार ७ सय रुपैयाँमा झरेको थियो। त्यस्तै, बुधबार ९ सय, मंगलबार १ हजार ४ सय, सोमबार ९ सय र आइतबार ४ सय रुपैयाँले सुनको मूल्य घटेको थियो।
यता, चाँदीको मूल्य भने आज प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ४ सय ७५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला १ सय ७० रुपैयाँले बढेर ४ हजार ५ सय १० रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य गत माघ १५ गते कायम भएको थियो। त्यसदिन सुनको मूल्य एकैदिन प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।
त्यसैगरी, चाँदीको मूल्यमा हालसम्मकै ठूलो गिरावट गत माघ १८ गते देखिएको थियो। त्यसदिन चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो। चाँदीको उच्चतम मूल्य भने माघ १५ गते प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ कायम भएको थियो।







