गोरखामा दरौंदी खोलामाथि मोटरेबल पुल निर्माण

User Image Prime TV News १ हप्ता अगाडि
Image of गोरखामा दरौंदी खोलामाथि मोटरेबल पुल निर्माण

गोरखा । गोरखा नगरपालिका–३ र सिरानचोक गाउँपालिका–६ जोड्ने दरौंदी खोलामाथिको मोटरेबल पुल निर्माण सम्पन्न भएको छ।

आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुलको उद्घाटन गरेका हुन्। नयाँसाँघु–नारेश्वर हुँदै गोरखा सदरमुकाम जोड्ने सडकखण्डमा रहेको पुल ७८ मिटर लामो र ८.४ मिटर चौडा रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

स्टिल ट्रस्ट प्रविधिमा निर्माण गरिएको पुलको लागत १५ करोड ६० लाख रुपैयाँ रहेको कार्यालय प्रमुख सन्तोष अर्यालले जानकारी दिए। उनका अनुसार पुल निर्माणका लागि एलिट कन्स्ट्रक्सन कम्पनीसँग २०७८ असार ७ गते सम्झौता भएको थियो। निर्माण कार्य गत आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य रहे पनि ढिलाइ भएपछि दुई पटक म्याद थप गरिएको थियो।

पुल सञ्चालनमा आएपछि सिरानचोक, बारपाक सुलिकोट, अजिरकोट र गोरखा नगरपालिकाका स्थानीयवासी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।