जाहेरी नपरेपछि ह्वील लक लगाउने नगर प्रहरीसहित सोधपुछमा बोलाइएका कर्मचारी रिहा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । त्रिपुरेश्वरमा मोटरसाइकलमा ह्वील लक लगाएपछि भएको विवादलगत्तै आत्मदाह गरेका मुगुका गणेश नेपालीको घटनामा सोधपुछका लागि बोलाइएका महानगर प्रहरीका कर्मचारीहरूलाई प्रहरीले रिहा गरेको छ।
हालसम्म घटनासम्बन्धी कुनै मुद्दा दर्ता नभएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनापछि ह्वील लक लगाउने महिला नगर प्रहरीसहित पाँच जना महानगर प्रहरीलाई शुक्रबार सोधपुछका लागि बोलाइएको थियो।
तीमध्ये तीन जनालाई केही समय नियन्त्रणमा लिएर घटनाबारे जानकारी संकलन गरिएको भए पनि आवश्यक विवरण लिएपछि आवश्यक पर्दा उपस्थित हुने सर्तमा छाडिएको हो। काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईले उनीहरूलाई अनुसन्धानका लागि औपचारिक रूपमा पक्राउ नगरिएको स्पष्ट पारे।
उनका अनुसार हालसम्म मृतकका परिवार वा अन्य कसैबाट आत्महत्या दुरुत्साहनसम्बन्धी जाहेरी वा निवेदन दर्ता भएको छैन। प्रहरीले आत्महत्या दुरुत्साहन वा अन्य कसुरसम्बन्धी उजुरी परे कानुनबमोजिम अनुसन्धान अघि बढाइने जनाएको छ।
गत बिहीबार त्रिपुरेश्वरमा गणेश नेपालीको मोटरसाइकलमा महानगर प्रहरीले ह्वील लक लगाएपछि एक महिला नगर प्रहरीसँग उनको विवाद भएको थियो। त्यसलगत्तै उनले आफ्नै मोटरसाइकलको ट्याङ्कीबाट पेट्रोल निकालेर शरीरमा छर्किँदै आगो लगाएका थिए। गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा शुक्रबार निधन भएको थियो।







