अमेरिकी हमलापछि इरानको जवाफी कारबाही, पश्चिम एसियाका ६ देशस्थित अमेरिकी सैन्य अड्डा निशानामा

User Image Prime TV News १ हप्ता अगाडि
Image of अमेरिकी हमलापछि इरानको जवाफी कारबाही, पश्चिम एसियाका ६ देशस्थित अमेरिकी सैन्य अड्डा निशानामा

काठमाडौ । अमेरिकाले इरानका सैन्य अड्डामाथि गरेको हवाई हमलापछि इरानले पश्चिम एसियाका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डा र रणनीतिक संरचनामाथि मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ।

इरानले आइतबार जोर्डन, कुवेत, कतार, बहराइन, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा रहेका अमेरिकी सैन्य अड्डा तथा रणनीतिक स्थानलाई लक्षित गरी हमला गरेको दाबी गरेको छ। इरानी अधिकारीहरूले यसलाई अमेरिकी कारबाहीको जवाफी कदम बताएका छन्।

यसअघि अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले इरानका करिब १४० सैन्य अड्डामाथि हवाई आक्रमण गरेको जनाएको थियो। अमेरिकाका अनुसार होर्मुज स्ट्रेटमा साइप्रसको झण्डा बोकेको एक कन्टेनर जहाजमाथि इरानी आक्रमण भएपछि उक्त सैन्य कारबाही गरिएको हो। सो आक्रमणमा जहाजमा आगलागी हुनुका साथै इन्जिनमा क्षति पुगेको र चालक दलका केही सदस्य हराइरहेको जनाइएको छ।

इरानले जोर्डनस्थित प्रिन्स हसन एयरबेस, कुवेतमा रहेको अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली र राडार साइट, बहराइनस्थित अमेरिकी सैन्य सञ्चार केन्द्र तथा कतार र यूएईमा रहेका अमेरिकी सैन्य संरचनालाई मिसाइल र ड्रोनमार्फत निशाना बनाएको जनाएको छ। यससँगै इरानले अर्को आदेश नआएसम्म होर्मुज स्ट्रेट बन्द रहने घोषणा गर्दै उक्त निर्णयको अवज्ञा गर्नेहरूमाथि कारबाही गरिने चेतावनी दिएको छ।

इरानका सर्वोच्च नेताका सल्लाहकार मोहसिन रेजाईले होर्मुज स्ट्रेटलाई इरानको रणनीतिक प्रतिरोधको प्रमुख माध्यम भएको उल्लेख गर्दै राष्ट्रिय हित र सुरक्षाको रक्षा गर्न देशले आफ्नो सम्पूर्ण क्षमता प्रयोग गर्ने बताएका छन्। उक्त घटनाक्रमपछि पश्चिम एसियामा तनाव थप चर्किएको छ भने अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन र परिस्थितिलाई थप बिग्रन नदिन सबै पक्षसँग आग्रह गरिरहेको छ।