आज आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती, देश–विदेशमा विविध कार्यक्रम

User Image Prime TV News १ हप्ता अगाडि
Image of आज आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती, देश–विदेशमा विविध कार्यक्रम

काठमाडौ । नेपाली भाषा तथा साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

संस्कृत भाषामा रचित रामायणलाई सरल नेपाली भाषामा भावानुवाद गरी आम नेपालीमाझ पुर्‍याएका भानुभक्त आचार्यलाई नेपाली भाषाको विकास र विस्तारमा ऐतिहासिक योगदान पुर्‍याएको श्रेय दिइन्छ। उनले रचना गरेको रामायण आज पनि नेपाली समाजमा श्रद्धापूर्वक पाठ गरिन्छ।

भौगोलिक रूपमा एकीकृत नेपाललाई भाषा, साहित्य र संस्कृतिमार्फत भावनात्मक रूपमा एकताबद्ध बनाउन भानुभक्तको महत्त्वपूर्ण भूमिका रहेको मानिन्छ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्त सामान्य घाँसीसँगको भेटपछि प्रेरित भएर रामायणलाई नेपाली भाषामा अनुवाद गर्न अग्रसर भएको जनविश्वास छ।

रामायणबाहेक उनका ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ तथा अन्य फुटकर रचनाहरू पनि नेपाली साहित्यका महत्त्वपूर्ण कृतिका रूपमा परिचित छन्।

भानु जयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरस्थित आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पण, प्रभातफेरी तथा विशेष साहित्यिक कार्यक्रम आयोजना गरिएको छ। देशभरका विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थाले पनि भानुभक्तको योगदानको स्मरण गर्दै विविध कार्यक्रम सञ्चालन गरेका छन्।

यस अवसरमा धेरै नेपाली परिवारमा भानुभक्तद्वारा नेपाली भाषामा अनूदित रामायणको पाठ गर्ने परम्परा पनि कायम छ। भानुभक्तको जन्मजयन्ती नेपालका साथै भारतका दार्जिलिङ, सिक्किम, भुटान, म्यानमारलगायत नेपाली भाषी समुदाय रहेका विभिन्न देश र क्षेत्रमा पनि विशेष रूपमा मनाइँदै आएको छ।