ट्रम्पको दाबी: होर्मुज जलमार्ग खुला छ, जहाजहरूको आवागमन जारी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरे पनि उक्त जलमार्ग व्यावसायिक जहाजहरूको आवागमनका लागि खुला रहेको दाबी गरेका छन्।
एनबीसी न्यूजको ‘मिट द प्रेस’ कार्यक्रममा टेलिफोनमार्फत दिएको अन्तर्वार्तामा ट्रम्पले इरानले पछिल्लो सैन्य तनावपछि अर्को सूचना नभएसम्म होर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरेको उल्लेख गर्दै पनि जहाजहरूको आवागमन भने जारी रहेको बताएका हुन्।
'जलमार्ग खुला छ। हामीले गएराति उनीहरूमाथि ठूलो हवाई आक्रमण गरेका थियौँ,' ट्रम्पले भने।
ट्रम्पले अमेरिका र इरानबीच केही समयअघि भएको वार्ताको पनि चर्चा गरे। उनका अनुसार सुरुमा इरानले आणविक कार्यक्रमसहित विभिन्न विषयमा भएको सम्झौतामा सहमति जनाएको थियो।
तर, त्यसपछि इरानले सम्झौताबाट पछि हटेर एउटा जहाजमाथि ड्रोन आक्रमण गरेको आरोप उनले लगाए।'उनीहरूले सबै कुरा त्यागे र बैठकबाट बाहिरिए। त्यसको एक घण्टाभित्रै एउटा जहाजमा ड्रोन प्रहार गरे,' ट्रम्पले भने।
यद्यपि, ट्रम्पले इरानसँगको पछिल्लो तनावबारे थप टिप्पणी गर्न चाहेनन्। उनले आफ्नो प्राथमिकता हालै निधन भएका रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमप्रति श्रद्धाञ्जली अर्पण गर्नु रहेको बताए।
'आज म केवल एक व्यक्तिका बारेमा कुरा गर्न चाहन्छु, लिन्डसे ग्राहम,' ट्रम्पले भने।







