निराशा र सुकुम्बासी समस्याप्रति सरकार संवेदनशील बन्नुपर्छ : विश्वप्रकाश शर्मा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशमा बढ्दो निराशा, आत्मदाहका घटना तथा सुकुम्बासीहरूको दयनीय अवस्थाप्रति सरकार गम्भीर र जिम्मेवार बन्नुपर्ने बताएका छन्।
सोमबार सार्वजनिक भिडियो सन्देशमार्फत उनले बर्खाको समयमा विस्थापित भएका सुकुम्बासीहरू आफ्नै देशभित्र शरणार्थीजस्तै जीवन बिताउन बाध्य भएको उल्लेख गर्दै उनीहरूको तत्काल व्यवस्थापन गर्न सरकारसँग आग्रह गरे।
शर्माले विकट क्षेत्रबाट काठमाडौं आएका गणेश नेपालीको आत्मदाहदेखि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा साना बालबालिकाले भोगिरहेको कठिन अवस्थासम्मका घटनाले राज्यको संवेदनशीलता परीक्षण गरिरहेको बताए। उनले यस्ता विषयलाई सत्ता–प्रतिपक्षको राजनीतिक विवादभन्दा माथि उठेर समाजमा आशा र विश्वास जगाउने साझा जिम्मेवारीका रूपमा लिनुपर्ने धारणा राखे।
उनले प्रेम आचार्य र गणेश नेपालीका आत्मदाहका घटनाको स्मरण गर्दै समाजमा निराशा बढ्नुको कारण खोज्न आवश्यक रहेको बताए। नागरिकले पुराना र नयाँ दुवै राजनीतिक शक्तिप्रति विश्वास गुमाउँदै जानु चिन्ताको विषय भएको उनको भनाइ थियो।
शर्माले होल्डिङ सेन्टरमा रहेका नागरिकको खाद्य, आवास र आधारभूत आवश्यकताको सुनिश्चितता गर्न तथा भविष्यमा कसैले पनि आत्मदाहजस्तो कठोर कदम चाल्नुपर्ने अवस्था आउन नदिन सरकारलाई आग्रह गरे। यस्ता मानवीय विषयमा नेपाली कांग्रेस सरकारसँग सहकार्य गर्न तयार रहेको उनले स्पष्ट पारे।
साथै, सुकुम्बासीको पक्षमा आवाज उठाउने युवालाई हिरासतमा राखिएको घटनाप्रति असन्तुष्टि जनाउँदै उनले समस्याको समाधान संवाद र व्यवस्थापनबाट खोजिनुपर्ने बताए। उनले सरकार जहाँसुकै भए पनि नागरिकको दुःखमा साथ दिने, भरोसा दिलाउने र "सरकार छ, निराश हुनुपर्दैन" भन्ने अनुभूति गराउन सक्षम हुनुपर्नेमा जोड दिए।







