माजिद अन्सारीले जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग

User Image Prime TV News १ हप्ता अगाडि
Image of माजिद अन्सारीले जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग

काठमाडौ । जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई गैरकानूनी रूपमा पक्राउ गरी कुटपिट गरिएको दाबी गर्दै आफ्नो जीवन, स्वतन्त्रता र मानव अधिकारको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

अस्पतालबाट सोमबार जारी वक्तव्यमा उनले सबै सम्बन्धित सरकारी निकाय, संघीय संसदका सदस्य, प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय र मानव अधिकार रक्षकहरूलाई आफ्नो सुरक्षा सुनिश्चित गर्न अपिल गरेका हुन्।

अन्सारी गत शनिबार कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बाढीपछिको अवस्था अवलोकन गर्न पुगेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीको कुटपिटबाट घाइते भएको दाबी गर्दै उनी हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन्।

उनले हालसम्म आफूलाई पक्राउ गर्नुको कारण नबताइएको, पक्राउ पुर्जी नदेखाइएको तथा पक्राउको कानुनी आधारबारे कुनै जानकारी नदिइएको उल्लेख गरेका छन्। साथै, गृहमन्त्री र प्रहरी महानिरीक्षकसँग सार्वजनिक रूपमा आफ्नो पक्राउको कारण स्पष्ट पार्न माग गरेका छन्।

यद्यपि, अन्सारीले लगाएका आरोपबारे नेपाल प्रहरी वा गृह मन्त्रालयले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्। अन्य जेनजी अभियन्ताहरूका अनुसार अस्पतालमा उपचाररत अन्सारीलाई जबरजस्ती डिस्चार्ज गराएर जिल्ला प्रशासन कार्यालय लैजाने प्रयास भइरहेको छ। सार्वजनिक मुद्दा दर्ता गर्ने तयारी भइरहेको उनीहरूको दाबी छ।

अन्सारीले भने राष्ट्रिय मानव अधिकार आयोगको प्रतिनिधिको उपस्थितिमा मात्रै अस्पतालबाट प्रशासन कार्यालयमा जान तयार रहेको बताएका छन्। यसैबीच, घटनाबारे जानकारी लिएपछि मानव अधिकार आयोगको टोली अस्पतालतर्फ गएको जनाइएको छ।