फिफाले २०३० विश्वकपमा ६४ टोली सहभागी गराउने प्रस्तावमाथि छलफल गर्ने

User Image Prime TV News १ हप्ता अगाडि
Image of फिफाले २०३० विश्वकपमा ६४ टोली सहभागी गराउने प्रस्तावमाथि छलफल गर्ने

काठमाडौ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०३० को विश्वकपमा सहभागी टोलीको संख्या ४८ बाट बढाएर ६४ पुर्‍याउने सम्भावनाबारे अध्ययन र छलफल गर्ने भएको छ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपलाई अझ समावेशी बनाउने उद्देश्यले सम्बन्धित समितिहरूमा यस विषयमा औपचारिक छलफल हुने बताएका छन्। स्विस सञ्चारमाध्यम ब्लुविनसँगको अन्तर्वार्तामा उनले विश्वकपमा बढी राष्ट्रलाई अवसर दिनु फुटबलको विश्वव्यापी विकासका लागि महत्त्वपूर्ण हुने धारणा राखे।

इन्फान्टिनोका अनुसार विश्वकप केही महादेशमा सीमित प्रतियोगिता नभई सम्पूर्ण विश्वका राष्ट्रहरूको साझा मञ्च हुनुपर्छ। साना तथा विकासोन्मुख फुटबल राष्ट्रले पनि विश्वकप खेल्ने अवसर पाए उनीहरूको प्रतिस्पर्धात्मक स्तर र विकासमा सकारात्मक प्रभाव पर्ने उनले बताए।

सन् १९९८ देखि २०२२ सम्म विश्वकपमा ३२ टोली सहभागी हुने व्यवस्था थियो। सन् २०२६ को संस्करणमा पहिलो पटक ४८ टोलीले प्रतिस्पर्धा गरेका छन्। इन्फान्टिनोले यो नयाँ ढाँचालाई सफल रहेको उल्लेख गर्दै सबै महादेशका टोलीले प्रतिस्पर्धात्मक प्रदर्शन गरेको बताए।

उनले विशेषगरी अफ्रिकी टोलीहरूको उदाहरण दिँदै विस्तारित विश्वकपले नयाँ राष्ट्रहरूलाई अवसर प्रदान गरेको र त्यसले प्रतियोगिताको गुणस्तरमा समेत सकारात्मक प्रभाव पारेको दाबी गरे। यसैबीच, सन् २०३० को विश्वकप इतिहासमै पहिलो पटक बहु–महादेशीय ढाँचामा आयोजना हुँदैछ। प्रतियोगिताका उद्घाटन खेलहरू उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा हुनेछन् भने बाँकी खेलहरू मोरक्को, पोर्चुगल र स्पेनमा सञ्चालन गरिनेछन्।

यदि सहभागी टोलीको संख्या ६४ पुर्‍याउने निर्णय भए दक्षिण अमेरिकी आयोजक राष्ट्रहरूले एक–एक उद्घाटन खेल मात्र नभई पूरा समूह चरणका खेल आयोजना गर्ने सम्भावना पनि बढ्ने अपेक्षा गरिएको छ।