नयाँ राहदानी प्रणालीको पहिलो दिनमै प्राविधिक समस्या, देशभर सेवा प्रभावित
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नयाँ राहदानी (पासपोर्ट) छपाइ तथा वितरण प्रणाली सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आए पनि पहिलो दिनमै प्राविधिक समस्या देखिँदा देशभर सेवा प्रभावित भएको छ।
राहदानी विभागले जर्मन कम्पनीहरूको सहकार्यमा नयाँ प्रणालीमार्फत सेवा सुरु गरेको घोषणा गरे पनि विभिन्न जिल्लामा प्रणाली प्रभावकारी रूपमा सञ्चालन हुन सकेन। प्राप्त विवरणअनुसार पाल्पा, अर्घाखाँची, बैतडी, महोत्तरी, काभ्रे, उदयपुर, बारा र म्याग्दी लगायतका जिल्लामा पासवर्ड प्रमाणीकरण तथा प्रणाली सञ्चालनमा समस्या देखिएको छ।
प्राविधिक अवरोधका कारण त्रिपुरेश्वरस्थित राहदानी विभागमा समेत सेवाग्राहीको भीड बढेको छ। कतिपय स्थानमा प्रणाली पूर्ण रूपमा बन्द भएको तथा कतिपय कार्यालयमा कर्मचारीले लगइन गर्न नसकेको जानकारी आएको छ।
सोमबार बिहान परराष्ट्रमन्त्री शिशिर खनालले दुई जना नाबालकको राहदानी छपाइ गरेर नयाँ प्रणालीको औपचारिक शुभारम्भ गरेका थिए। विभागले करिब एक करोड नेपालीको विवरण सफलतापूर्वक नयाँ प्रणालीमा स्थानान्तरण गरिएको जनाएको भए पनि प्रारम्भिक चरणमै प्राविधिक चुनौती देखिएको हो।
यसअघि सन् २०१८ देखि फ्रान्सेली कम्पनीले सञ्चालन गर्दै आएको राहदानी प्रणालीको जिम्मेवारी अब जर्मन कम्पनीहरूले सम्हालेका छन्। नयाँ प्रणाली लागू गर्ने ठेक्का प्रक्रिया सुरुदेखि नै विवादमा परेको थियो। ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपसमेत उठे पनि सरकार अन्ततः नयाँ प्रणाली कार्यान्वयनतर्फ अघि बढेको थियो।
राहदानी विभागले भने प्रारम्भिक दिनमा यस्ता प्राविधिक समस्या आउनु अस्वाभाविक नभएको जनाएको छ। विभागकी उपनिर्देशक सोनु थापाका अनुसार समस्या समाधानका लागि प्राविधिक टोली तथा विदेशी विशेषज्ञहरू चौबीसै घण्टा खटिएका छन् र प्रणालीलाई पूर्ण रूपमा स्थिर बनाउने प्रयास जारी छ।







