नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार नियुक्त भएका घिमिरेले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन्। उनले सोही दिन पद तथा गोपनीयताको शपथसमेत लिएका छन्।
नियुक्तिपत्र हस्तान्तरण गर्दै मन्त्री तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भएका अध्यक्ष घिमिरेबाट दूरसञ्चार क्षेत्रको प्रभावकारी नियमन र सुधारमा महत्वपूर्ण योगदानको अपेक्षा रहेको बताए। उनले कानुनी दायराभित्र रहेर निष्पक्ष, पारदर्शी र परिणाममुखी ढंगले जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए।
मन्त्री तिमिल्सिनाले दूरसञ्चार क्षेत्रमा देखिएका समस्या समाधान, सेवाको गुणस्तर सुधार, नागरिक हितको संरक्षण तथा अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन कार्ययोजना बनाएर अघि बढ्न सुझाव दिए। नवनियुक्त अध्यक्ष घिमिरेले कानुन, नीति र नियमको पालना गर्दै दूरसञ्चार क्षेत्रका विद्यमान समस्या समाधान, सेवा विस्तार, सुशासन र प्रभावकारी नियमनका लागि प्रतिबद्धताका साथ काम गर्ने बताएका छन्।







