नक्कली भुटानी शरणार्थी प्रकरण: दोषी ठहर भएकाहरूको सजाय निर्धारण सुनुवाइ हेर्दाहेर्दैमा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कसुरदार ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि काठमाडौं जिल्ला अदालतमा भएको सुनुवाइ टुंगोमा पुग्न नसकेपछि हेर्दाहेर्दैमा राखिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितका प्रतिवादीलाई दोषी ठहर गरेको थियो। ३१ जना प्रतिवादी रहेको उक्त मुद्दामा १६ जना कसुरदार ठहर भएका छन् भने ७ जनाले सफाइ पाएका छन्। अन्य प्रतिवादीको हकमा अदालतले अभियोगअनुसार फरक–फरक फैसला गरेको थियो।
कानुनी व्यवस्थाअनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने मुद्दामा कसुर ठहर भएपछि ३० दिनभित्र सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने हुन्छ। सोही प्रक्रियाअनुसार अदालतले आज सजाय निर्धारणका लागि सुनुवाइ राखेको थियो।
यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई मुख्य कसुरदार ठहर भएका छन्। त्यस्तै पूर्वगृहमन्त्री बालकृष्ण खाण र शरणार्थी नेता टेकनाथ रिजाल लगायतलाई मतियारका रूपमा दोषी ठहर गरिएको छ।
अदालतले सजाय निर्धारणअघि आवश्यक प्रतिवेदन र प्रक्रिया पूरा गर्न जिल्ला सरकारी वकिल कार्यालय तथा प्रतिवादीका कानुन व्यवसायीलाई जानकारी गराएको छ। जिल्ला अदालतको फैसलाविरुद्ध असन्तुष्ट पक्षले कानुनबमोजिम उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुनरावेदन गर्न सक्नेछन्।







