अविरल वर्षापछि नागढुङ्गाबाट बाहिरिने सवारी रोकियो, नारायणगढ–मुग्लिन सडक पनि अवरुद्ध

User Image Prime TV News १ हप्ता अगाडि
Image of अविरल वर्षापछि नागढुङ्गाबाट बाहिरिने सवारी रोकियो, नारायणगढ–मुग्लिन सडक पनि अवरुद्ध

काठमाडौ । अविरल वर्षाका कारण बाढी, पहिरो, ढुङ्गा खस्ने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेपछि नागढुङ्गाबाट उपत्यका बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार नागढुङ्गा हुँदै उपत्यकाबाट बाहिरिने सडकखण्डमा अर्को सूचना जारी नभएसम्म सवारी आवागमन बन्द गरिएको छ।

सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै फर्पिङ–दक्षिणकाली–मकवानपुर सडकमा पनि सवारी सञ्चालन रोकिएको प्रहरीले जनाएको छ। कुनै आपत्कालीन अवस्था वा समस्या परेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

यस्तै, केहीबेरअघि नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ढुङ्गा खस्न थालेपछि र सेती दोभान क्षेत्रमा लेदो बग्न थालेपछि उक्त सडकमा दुवैतर्फको सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

देशका धेरै स्थानमा निरन्तर वर्षा भइरहेकाले बाढी, पहिरो र सडक अवरोधको जोखिम कायम रहेको भन्दै यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।