निर्वाचित प्रतिनिधिमाथि ‘नेपो किड्स’ हाबी भएको वर्षमान पुनको आरोप
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुनले देशमा निर्वाचित जनप्रतिनिधिभन्दा ‘नेपो किड्स’ हाबी भएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको सचिवालयमा सल्लाहकारका नाममा रहेका व्यक्तिहरूले राज्य सञ्चालनमा अनुचित प्रभाव पारिरहेको दाबी गरे। कर्मचारी र सचिवहरू खुला रूपमा बोल्न नसक्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो।
पासपोर्ट ठेक्का प्रकरणबारे छलफलका क्रममा पुनले प्रधानमन्त्रीको सचिवालयले संवैधानिक व्यवस्थामाथि हस्तक्षेप गरेको आरोप लगाउँदै अदालत तथा संवैधानिक निकायहरू प्रभावकारी रूपमा काम गर्न नसकेको टिप्पणी गरे।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई समेत प्रधानमन्त्रीका सल्लाहकारले दबाब दिएको दाबी गर्दै स्वार्थ समूहको प्रभावमा परेर पासपोर्ट ठेक्का प्रक्रियामा चलखेल भएको आरोप लगाए। सांसद पुनले कर्मचारीतन्त्र त्रासमा रहेको उल्लेख गर्दै संसदीय समितिमा बोलेकै आधारमा समेत दबाब र प्रतिशोधको डर रहेको टिप्पणी गरे।
यस विषयमा प्रधानमन्त्रीको सचिवालय तथा सम्बन्धित निकायको प्रतिक्रिया भने सार्वजनिक भएको छैन।







