गाडी तेर्स्याउने घटनामा कांग्रेस नेता आङ्देम्बेको सरकारमाथि आरोप
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विभिन्न सञ्चारगृह र कांग्रेस सभापति गगन थापाको निवासअगाडि शङ्कास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाप्रति आपत्ति जनाउँदै सरकारमाथि गम्भीर आरोप लगाएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आङ्देम्बेले उक्त घटनालाई आलोचनात्मक आवाज दबाउने र विपक्षी तथा सञ्चारमाध्यमलाई मनोवैज्ञानिक दबाबमा राख्ने प्रयास भएको दाबी गरे। उनले सरकार नागरिकका ज्वलन्त समस्या समाधान गर्नभन्दा प्रश्न उठाउने पक्षलाई तर्साउने दिशामा उन्मुख भएको आरोप लगाए।
आङ्देम्बेले सहकारी पीडित, मिटरब्याज पीडित, सुकुमवासी समस्या, बेरोजगारी र सुशासनजस्ता विषयमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने उल्लेख गर्दै सञ्चारमाध्यम र प्रतिपक्ष लोकतन्त्रका महत्त्वपूर्ण अंग भएकाले उनीहरूको आवाज दबाउने कुनै पनि प्रयास स्वीकार्य नहुने बताए।
सोमबार बिहान कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर, हिमालय टेलिभिजन, कांग्रेस सभापति गगन थापाको निवास तथा भाटभटेनी क्षेत्रअगाडि शङ्कास्पद रूपमा पार्किङ गरिएका सवारीसाधन फेला परेका थिए।
ट्राफिक प्रहरीले ती सवारीसाधन क्रेनमार्फत हटाई कार्यालय लगेको थियो। जथाभावी पार्किङ गरेको कसुरमा सम्बन्धित सवारीधनी वा चालकलाई पाँच सयदेखि एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना गरी सवारीसाधन फिर्ता गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न सवारीसाधनका धनी तथा प्रयोगकर्ताको विवरण सार्वजनिक भइसकेको छ। यसैबीच, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ।
यस घटनाबारे सरकारले औपचारिक रूपमा प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन भने आङ्देम्बेले लगाएका आरोप स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।







