प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद राईको माग
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाउन पुनः माग गरेका छन्।
लामो समय बितिसक्दा पनि आफ्नो माग सम्बोधन नभएको भन्दै उनले सरकारको आलोचना गरेका हुन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन आफूले गरेको माग अझै सम्बोधन नभएको उल्लेख गरे।
उनले संसद्को मागप्रति सरकार मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरे। सांसद राईले काठमाडौं महानगरपालिकाको मेयर रहेका बेला प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको अभिव्यक्तिको प्रसंग पनि उठाए। उनले उक्त अभिव्यक्तिलाई गम्भीर रूपमा लिनुपर्ने बताउँदै त्यसपछिका घटनाक्रमबारे पनि चर्चा गरे।
प्रधानमन्त्रीको अभिव्यक्ति नियतवश नभई गल्तीवश आएको हो भने संसदमा उपस्थित भएर त्यसलाई फिर्ता लिनुपर्ने र स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने राईको माग थियो।







