राहदानी छपाइ प्रकरणमा लेखा समितिको छलफल स्थगित
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राहदानी छपाइ प्रकरणबारे छलफल गर्न बोलाइएको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठक विषयवस्तुमा प्रवेश नगरी स्थगित भएको छ।
मंगलबार बसेको बैठकमा अधिकांश सांसदहरूले उक्त प्रकरण अदालतमा विचाराधीन रहेकाले समितिमा छलफल गर्नु उपयुक्त नहुने धारणा राखेपछि एजेन्डामाथि छलफल अघि बढ्न सकेन। त्यसपछि समितिको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।
बैठकमा रास्वपाका सांसदहरूले राहदानी छपाइसम्बन्धी मुद्दा विशेष अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै एजेन्डा परिवर्तन गर्न माग गरेका थिए। सांसद गणेश पराजुलीले न्यायिक प्रक्रियामा रहेका विषयमा अदालतलाई नै निर्णय गर्न दिनुपर्ने बताउँदै समितिले अन्य विषयमा छलफल गर्नुपर्ने धारणा राखे।
रास्वपाकी सांसद क्रान्तिशिखा धितालले पनि राहदानी प्रकरणमा छलफल गर्ने यो उपयुक्त समय नभएको भन्दै समितिले अन्य कार्यसूचीमा प्रवेश गर्नुपर्ने बताइन्। अन्य केही सांसदहरूले पनि समितिको गरिमा र न्यायिक प्रक्रियालाई सम्मान गर्दै अदालतमा विचाराधीन विषयमा छलफल नगर्न आग्रह गरेका थिए।
त्यसपछि समितिका सभापति भरतबहादुर खड्काले बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको घोषणा गरेका हुन्।







