प्रधानमन्त्रीलाई ‘श्री ८’ भनेपछि रास्वपा सांसद यादवको नियमापत्ति

User Image Prime TV News १ हप्ता अगाडि
Image of प्रधानमन्त्रीलाई ‘श्री ८’ भनेपछि रास्वपा सांसद यादवको नियमापत्ति

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहलाई ‘श्री ८’ को संज्ञा दिइएको भन्दै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिवजी यादवले प्रतिनिधिसभा बैठकमा नियमापत्ति जनाएका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्री शाहको आलोचना गर्ने क्रममा उनलाई ‘श्री ८’ को संज्ञा दिएका थिए। उनले सरकारको कार्यशैलीले प्रधानमन्त्रीलाई प्रश्नभन्दा माथि राख्न खोजेको आरोप लगाएका थिए।

सांसद राईले संविधान र कानुनको सीमाभित्र रहेर उठाइने प्रश्नलाई समेत सरकारले अस्वीकार गर्न खोजेको दाबी गर्दै सरकार नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने दिशामा अघि बढेको आरोप लगाए।

उनको उक्त अभिव्यक्तिपछि रास्वपा सांसद शिवजी यादवले नियमापत्ति गर्दै ‘श्री ८’ भन्ने सम्बोधन संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको भावना विपरीत भएको बताए। उनले उक्त शब्द संसद्को रेकर्डबाट हटाउन माग गरे। ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौं। प्रधानमन्त्रीलाई श्री ८ को सरकार भनेर सम्बोधन गर्नु संविधानले स्वीकार गर्ने भाषा होइन,’ यादवले भने।