‘राज्य संरक्षित व्यक्तिले मिडिया र नेतामाथि त्रास फैलाए’ : सांसद मल्ल

User Image Prime TV News १ हप्ता अगाडि
Image of ‘राज्य संरक्षित व्यक्तिले मिडिया र नेतामाथि त्रास फैलाए’ : सांसद मल्ल

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेशकुमार मल्लले मिडिया हाउस र राजनीतिक नेतृत्वका निवासअगाडि भएका अवरोधजन्य गतिविधिमा राज्य संरक्षण पाएका व्यक्तिहरू संलग्न रहेको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मल्लले गणेश नेपाली प्रकरणलाई ओझेलमा पार्नका लागि सडक अवरोध गर्ने, सञ्चारमाध्यम र राजनीतिक नेतृत्वमाथि त्रास सिर्जना गर्ने गतिविधि गरिएको दाबी गरे।

उनले न्युरोडलगायतका मुख्य सडकमा लामो समयसम्म अवरोध गरिएको र त्यसपछि मिडिया हाउस तथा प्रमुख प्रतिपक्षी दलका नेताको निवासअगाडि गाडी तेर्स्याइएको बताए। यस्ता गतिविधि राज्य संरक्षित व्यक्तिहरूबाट भएको उनको आरोप थियो।

सांसद मल्लले अवरोध सिर्जना गर्ने सवारीसाधनमाथि सामान्य जरिवाना मात्र गरेर छाड्न नहुने भन्दै कडा कारबाहीको माग गरे। उनले संलग्न व्यक्ति र योजनाकारको पहिचान गरी तत्काल अनुसन्धान गर्न सरकारलाई आग्रह गरे।

उनले सरकारबाट सर्वसाधारणको हितमा पर्याप्त काम हुन नसकेको आरोप लगाउँदै गरिब तथा सुकुमवासी नागरिकका समस्या समाधानमा समेत सरकारले ध्यान नदिएको बताए। सांसद मल्लले प्रधानमन्त्री बालेन्द्र शाहले दिएको भनिएको राष्ट्रियतासम्बन्धी अभिव्यक्तिबारे पनि आपत्ति जनाउँदै त्यसलाई सच्याउनुपर्ने धारणा राखे।