सञ्चारगृहमाथि हुने अवरोध प्रेस स्वतन्त्रतामाथिको आक्रमण : रास्वपा सचेतक परियार
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सञ्चारगृहमाथि हुने कुनै पनि प्रकारको अवरोध, दबाब वा त्रास सिर्जना गर्ने प्रयास प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको बताएका छन्।
सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद परियारले संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्न सरकार गम्भीर हुनुपर्ने बताए। उनले आफू सांसद मात्र नभई आमसञ्चारको विद्यार्थी र प्रेस स्वतन्त्रताको पक्षधरका रूपमा संसद्मा उभिएको उल्लेख गरे।
राजधानीका एक सञ्चारमाध्यमको प्रवेशद्वारमा गाडी पार्किङ गरी आवतजावत अवरुद्ध गर्ने प्रयासको विरोध गर्दै परियारले यस्ता गतिविधिको भर्त्सना गरे। सत्यसँग डराउनेहरूले मात्र यस्ता प्रयास गर्ने भन्दै उनले सत्यलाई दबाउन खोज्नु सम्भव नभएको टिप्पणी गरे।
उनले विगतको निरंकुश शासनकालमा समेत नेपाली पत्रकारिता नझुकेको स्मरण गर्दै अहिले सडकमा केही गाडी तेर्स्याएर सञ्चारमाध्यमलाई डराउन नसकिने बताए। विभिन्न राजनीतिक उतारचढाव र कठिन परिस्थितिबाट नेपाली पत्रकारिता अघि बढेको उनको भनाइ थियो।
रास्वपा लोकतन्त्र, विधिको शासन र प्रेस स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गर्दै परियारले सत्ता वा स्वार्थका आधारमा सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्न नहुने बताए। उनले स्वतन्त्र प्रेससँगै जिम्मेवार पत्रकारिताको आवश्यकता पनि औंल्याए। प्रेसले आफ्नो कमजोरी सुधार गर्नुपर्ने बताउँदै उनले स्वतन्त्रता र जिम्मेवारी सँगसँगै अघि बढ्नुपर्ने धारणा राखे।
सांसद परियारले सरकार र गृह प्रशासनको ध्यानाकर्षण गराउँदै सबै सञ्चारगृह तथा पत्रकारलाई निर्भय वातावरणमा काम गर्ने सुरक्षा सुनिश्चित गर्न माग गरे। जिम्मेवार र स्वतन्त्र प्रेस लोकतन्त्र सुदृढीकरणको आधार भएको उनको भनाइ थियो।







