चार दिनको गिरावटपछि सेयर बजारमा सुधार, नेप्से ६.११ अंकले बढ्यो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । लगातार चार कारोबार दिन ओरालो लागेको नेपाली सेयर बजारमा मंगलबार सुधार देखिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.११ अंकले बढेर २,५७६.२९ विन्दुमा पुगेको हो। आज ३८३ कम्पनीको सेयर कारोबार हुँदा १६४ कम्पनीको सेयर मूल्य बढेको, १०१ कम्पनीको घटेको तथा बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ। कुल १ करोड ८२ लाख ९३ हजार ५९६ कित्ता सेयर ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार रुपैयाँमा कारोबार भएको छ।
कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब १३ प्रतिशतले वृद्धि भएको छ। आज उत्पादन तथा प्रशोधन समूहबाहेक सबै उपसमूहका परिसूचक हरियालीमा रहे। सबैभन्दा धेरै व्यापार समूहको परिसूचक १.४७ प्रतिशतले बढेको छ।
कारोबारका आधारमा कामना सेवा विकास बैंक डिबेञ्चर, सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर र उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी प्रतिफल कमाएका छन्। यता नेपाल एसबीआई बैंक डिबेञ्चर, सामुदायिक लघुवित्त वित्तीय संस्था र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा धेरै गुमाएका छन्।







