भूमिहीन र सुकुम्वासीको दिगो व्यवस्थापनबारे छलफल माग्दै विपक्षीद्वारा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । प्रतिनिधिसभाका विपक्षी दलहरूले वास्तविक भूमिहीन, भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको दिगो व्यवस्थापनका विषयमा संसद्मा छलफल गराउन जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेका छन्।
प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ७१ बमोजिम विपक्षी दलहरूको तर्फबाट बुधबार सङ्घीय संसद् सचिवालयमा उक्त प्रस्ताव दर्ता गरिएको हो।
प्रस्तावमा संविधान, प्रचलित कानुन तथा मानवअधिकारका मान्यताअनुरूप भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासी नागरिकको संरक्षण, सुरक्षित बसोबास तथा दिगो पुनःस्थापनाका विषयमा सदनमा विस्तृत छलफल आवश्यक रहेको उल्लेख गरिएको छ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे प्रस्तावक रहेको उक्त प्रस्तावमा नेकपा (एमाले) का ऐनबहादुर महर, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का युवराज दुलाल तथा श्रम संस्कृति पार्टीका आरेन राईले समर्थन जनाएका छन्।
विपक्षी दलहरूले सरकारलाई भूमिसम्बन्धी समस्या समाधानका लागि स्पष्ट नीति, प्रभावकारी कार्ययोजना र दीर्घकालीन व्यवस्थापनको खाका प्रस्तुत गर्नसमेत आग्रह गरेका छन् ।







