उपचारपछि जेनजी अभियन्ता माजिद अन्सारी अस्पतालबाट डिस्चार्ज, प्रहरी हिरासतबाट पनि रिहा

User Image Prime TV News ६ दिन अगाडि
Image of उपचारपछि जेनजी अभियन्ता माजिद अन्सारी अस्पतालबाट डिस्चार्ज, प्रहरी हिरासतबाट पनि रिहा

काठमाडौ । कीर्तिपुरस्थित सुकुम्वासी होल्डिङ सेन्टरमा भएको प्रहरी धरपकडका क्रममा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्।

शनिबार होल्डिङ सेन्टर पुगेका बेला प्रहरीले बल प्रयोग गर्दै उनलाई नियन्त्रणमा लिएको थियो। त्यसक्रममा घाइते भएका अन्सारीको स्वास्थ्य अवस्था हिरासतमा बिग्रिएपछि सोही दिन उपचारका लागि शिक्षण अस्पताल भर्ना गरिएको थियो।

उपचार पूरा भएपछि बुधबार अस्पतालले अन्सारीलाई डिस्चार्ज गरेको छ। साथै राष्ट्रिय मानव अधिकार आयोगको रोहबरमा उनी प्रहरी हिरासतबाट पनि मुक्त भएका छन्।

अन्सारीका कानुन व्यवसायीहरूले घटनासम्बन्धी बाँकी कानुनी प्रक्रिया अघि बढाइने बताएका छन्। उनीहरूका अनुसार मानव अधिकार आयोगको प्रतिवेदनका आधारमा यातनाविरुद्धको कानुनी उपचारको प्रक्रिया अघि बढाइनेछ।

अन्सारीमाथि भएको धरपकड र कुटपिटको घटनालाई लिएर यसअघि सडकदेखि संसद्सम्म विरोध भएको थियो। मानव अधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाज तथा जेनजी अभियन्ताहरूले घटनाको निष्पक्ष छानबिन र जिम्मेवारमाथि कारबाहीको माग गर्दै आएका छन्।

परिवारका अनुसार अन्सारीको उपचारमा लागेको सम्पूर्ण खर्च परिवारले नै व्यहोरेको छ ।