भारतका चार विश्वविद्यालयका प्रमाणपत्रको समकक्षता त्रिविद्वारा रद्द
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले भारतका चार विश्वविद्यालयबाट जारी गरिएका शैक्षिक प्रमाणपत्रको समकक्षता रद्द गरेको छ।
केन्द्रका अनुसार छानबिन समितिको सिफारिस, ३५ दिने सार्वजनिक सूचना र त्यस अवधिमा प्राप्त कागजातहरूको मूल्यांकनपछि यसअघि प्रदान गरिएका समकक्षता प्रमाणपत्र खारेज गर्ने निर्णय गरिएको हो।
समकक्षता रद्द गरिएका विश्वविद्यालयमा मेघालयस्थित सीएमजे युनिभर्सिटी र टेक्नो ग्लोबल युनिभर्सिटी, मणिपुरस्थित साङ्गाई इन्टरनेसनल युनिभर्सिटी तथा झारखण्डस्थित प्रज्ञान इन्टरनेसनल युनिभर्सिटी रहेका छन्।
त्रिविका अनुसार समकक्षता रद्द गर्ने प्रक्रियाअन्तर्गत यसअघि गोरखापत्र दैनिकमार्फत ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको थियो।
त्यस अवधिमा सम्बन्धित व्यक्तिहरूले पेस गरेका प्रमाण तथा कागजातको परीक्षण गर्दा समकक्षता यथावत् राख्नुपर्ने विश्वसनीय आधार नदेखिएपछि त्रिभुवन विश्वविद्यालय उपाधि मान्यता तथा समकक्षतासम्बन्धी विनियम, २०८२ को विनियम २१ बमोजिम निर्णय गरिएको हो।
भारतको सम्बन्धित सरकारी निकायले ती विश्वविद्यालयबाट प्रदान गरिएका शैक्षिक योग्यतालाई अवैधानिक ठहर गरेपछि त्रिविले यस विषयमा छानबिन समिति गठन गरेको थियो।
समकक्षता रद्द हुनेमा वाणिज्य, कला, सिभिल इन्जिनियरिङ, फिजियोथेरापी, कानुन, कम्प्युटर एप्लिकेसन तथा व्यवस्थापन, क्लिनिकल बायोकेमिस्ट्री, क्लिनिकल माइक्रोबायोलोजीलगायत विषयमा स्नातकदेखि विद्यावारिधि (पीएचडी)सम्मका उपाधि प्राप्त गरेका व्यक्तिहरू समावेश छन्।







