महाधिवेशनपछि पनि रास्वपाको संगठन विस्तार अधुरो, पदाधिकारी टुंग्याउन सभापति लामिछानेमाथि दबाब
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन सम्पन्न भएको तीन साता पुग्न लाग्दा पनि पार्टीका पदाधिकारी, सचिवालय र केन्द्रीय समितिको विस्तार टुंगो लाग्न सकेको छैन।
सभापति रवि लामिछानेले महाधिवेशनपछिका बाँकी संगठनात्मक काम अझै पूरा गर्न सकेका छैनन्। पार्टीभित्र विभिन्न समूहबाट आएका नेताहरूलाई समायोजन गर्नुपर्ने, नेतृत्वको सन्तुलन मिलाउनुपर्ने तथा सरकारमा रहेका नेताहरूको दोहोरो भूमिकाबारे उठेका प्रश्नका कारण निर्णय प्रक्रिया लम्बिएको नेताहरूको भनाइ छ।
रास्वपाकी सहमहामन्त्री निशा डाँगीका अनुसार सभापति लामिछानेले यही महिनाभित्र बाँकी काम पूरा गर्ने तयारी गरिरहेका छन्। तर पछिल्लो राजनीतिक घटनाक्रम र सरकारसँग सम्बन्धित विषयलाई प्राथमिकता दिँदा संगठन विस्तारमा ढिलाइ भएको उनले बताइन्।
यसबीच सभापति लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच पार्टीको सचिवालय, केन्द्रीय समिति र पदाधिकारी गठनका विषयमा छलफल भएको स्रोतले जनाएको छ। छलफलमा विभिन्न समूहलाई समेट्दै एकताको सन्देश दिने गरी संगठन विस्तार गर्नुपर्नेमा जोड दिइएको बताइएको छ।
पार्टी विधानअनुसार सभापतिलाई ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्ने तथा पदाधिकारी र सचिवालय गठन गर्ने अधिकार छ। तर विभिन्न समूहबाट आएका नेताहरूको व्यवस्थापन चुनौतीपूर्ण बनेकाले निर्णय तत्काल हुन नसकेको बताइएको छ।
महाधिवेशनपछि पार्टीमा अझै प्रवक्ता, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सहमहामन्त्रीलगायत महत्वपूर्ण पद रिक्त छन्। प्रवक्ता नहुँदा पार्टीका धारणा सार्वजनिक गर्न कठिनाइ भएको तथा कोषाध्यक्ष नहुँदा प्रशासनिक काम प्रभावित भएको नेताहरूको भनाइ छ।
यस्तै, प्रधानमन्त्री बालेन्द्र शाह पनि महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य नभएकाले उनलाई पहिले केन्द्रीय समितिमा मनोनीत गरेपछि मात्रै पार्टीको वरिष्ठ नेताका रूपमा औपचारिक जिम्मेवारी दिइने प्रक्रिया अघि बढ्ने बताइएको छ।
रास्वपाका नेताहरूले संगठन विस्तारको काम छिट्टै टुंग्याएर पार्टीलाई पूर्ण संरचनासहित अघि बढाउने तयारी भइरहेको बताएका छन्।







