वर्षा र पहिरोका कारण चार मुख्य राजमार्ग अवरुद्ध, यातायात प्रभावित

User Image Prime TV News ६ दिन अगाडि
Image of वर्षा र पहिरोका कारण चार मुख्य राजमार्ग अवरुद्ध, यातायात प्रभावित

काठमाडौ । लगातारको वर्षा र पहिरोका कारण देशभरका चार वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन्।

सडक अवरुद्ध हुँदा विभिन्न स्थानमा यातायात प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा पहिरोका कारण झापादेखि ताप्लेजुङ जोड्ने सडक अवरुद्ध भएको छ।

त्यस्तै, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ र ४ क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

सालझण्डी–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ स्थित ढुङ्ग्रे खोलामा पहिरोका कारण यातायात सञ्चालन रोकिएको प्रहरीले जनाएको छ।

यसैगरी, सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्ग र कान्ति लोकपथमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ। प्रहरीले वर्षाका कारण थप पहिरो तथा सडक अवरोध हुन सक्ने भएकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरेको छ।