४ वर्षदेखिको २९ लाख स्मार्ट लाइसेन्सको ब्याकलग छपाइ सकियो

User Image Prime TV News एक महिना अगाडि
Image of ४ वर्षदेखिको २९ लाख स्मार्ट लाइसेन्सको ब्याकलग छपाइ सकियो

काठमाडौ । यातायात व्यवस्था विभागमा चार वर्षदेखि थुप्रिएको करिब २९ लाख स्मार्ट ड्राइभिङ लाइसेन्सको ब्याकलग छपाइ सम्पन्न भएको छ।

सुरक्षण मुद्रण केन्द्रले सम्झौता अनुसार २५ लाख ९२ हजार ४१७ थान लाइसेन्स छापिसकेको जनाएको छ। विभागका अनुसार एक वर्षभन्दा कम म्याद बाँकी रहेका ३ लाख ७ हजार ५८३ लाइसेन्स भने तत्काल नछापिने भएका छन्। ती लाइसेन्स सेवाग्राहीले नवीकरण गरेपछि मात्रै छापिने विभागका निर्देशक केशव खतिवडाले बताएका छन्।

सुरक्षण मुद्रण केन्द्रका अनुसार हाल छापिएका लाइसेन्सको अन्तिम ‘कटिङ’ कार्य भइरहेको छ भने छिट्टै विभागलाई हस्तान्तरण गरिनेछ। साथै नयाँ तथा नवीकरण गरिएका लाइसेन्सको दैनिक ३ देखि ४ हजार थान छपाइ पनि निरन्तर भइरहेको केन्द्रले जनाएको छ।

विभागमा मेसिनको क्षमता, कार्ड अभाव र पछिल्लो समय आगजनीबाट छपाइ मेसिनमा क्षति पुगेपछि चार वर्षयता २९ लाख लाइसेन्सको ब्याकलग थुप्रिएको थियो। त्यसपछि सरकारले लाइसेन्स छपाइको जिम्मेवारी सुरक्षण मुद्रण केन्द्रलाई दिएसँगै २०८२ कात्तिकदेखि छपाइ सुरु भएको थियो।

ब्याकलग सकिएसँगै लामो समयदेखि स्मार्ट लाइसेन्सको प्रतीक्षामा रहेका सेवाग्राहीलाई राहत मिल्ने अपेक्षा गरिएको छ।