फ्रान्सको तल्लो सदनबाट इच्छा मृत्युसम्बन्धी ऐतिहासिक विधेयक पारित
Prime TV News एक महिना अगाडि 
काठमाडौ । फ्रान्सको संसदको तल्लो सदनले इच्छा मृत्युसम्बन्धी ऐतिहासिक विधेयक पारित गरेको छ।
वर्षौंदेखि कानुनी, नैतिक र धार्मिक बहसको विषय बनेको यो विधेयक राष्ट्रपति इमानुएल म्याक्रोनको पहलमा २९१ मतको समर्थन र २४१ मतको विरोधमा पारित भएको हो। नयाँ व्यवस्थाअनुसार निको नहुने गम्भीर रोगबाट पीडित वयस्क बिरामीले निश्चित कानुनी सर्त पूरा गरेपछि चिकित्सकीय सहयोगमा आफ्नै इच्छाले जीवन अन्त्य गर्न सक्नेछन्।
बिरामीले चिकित्सकले उपलब्ध गराएको घातक औषधि स्वयं सेवन गर्नुपर्नेछ भने शारीरिक रूपमा असक्षम भएमा मात्र चिकित्सक वा स्वास्थ्यकर्मीले सहयोग गर्न पाउनेछन्। कानुनअनुसार आवेदक कम्तीमा १८ वर्षको, फ्रान्सको नागरिक वा कानुनी बासिन्दा तथा असह्य पीडा दिने निको नहुने रोगबाट ग्रस्त हुनुपर्नेछ।
मानसिक पीडालाई मात्र आधार मानेर इच्छा मृत्युको अनुमति दिइने छैन। आवेदन बिरामीले स्वयं दिनुपर्नेछ र चिकित्सकीय समीक्षा तथा प्रतीक्षा अवधि पूरा भएपछि मात्र निर्णय कार्यान्वयन हुनेछ। विधेयकप्रति फ्रान्समा समर्थनसँगै विरोध पनि भएको छ।
आलोचकहरूले यसले मानव मर्यादा कमजोर पार्ने र वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिमाथि अप्रत्यक्ष दबाब सिर्जना हुन सक्ने बताएका छन्। अब विधेयक संवैधानिक परिषद्मा जानेछ, जहाँ यसको संवैधानिक वैधताबारे अन्तिम समीक्षा गरिनेछ।







