सरकारद्वारा ६ सचिवको सरुवा, मन्त्रालय र निकायमा जिम्मेवारी हेरफेर
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सरकारले ६ सचिवको सरुवा गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो। सरुवा गरिएका सचिवहरूको नयाँ जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेब पोर्टलमा समेत अद्यावधिक गरिएको छ।
सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको छ। उक्त मन्त्रालयकी सचिव राधिका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा राखिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा रहेका डिल्लीराम शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ।
त्यस्तै, नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव दीनानाथ मिश्रलाई सरुवा गरिएको छ। मिश्रको स्थानमा विश्वबाबु पुडासैनीलाई राष्ट्रिय सतर्कता केन्द्रको सचिवको जिम्मेवारी दिइएको छ।







